अनुपात
ना. [सं.]
- सापेक्षता; दँजाइ वा दाँजो; तुलनात्मकता (उदा.- पढाइको अनुपातमा लेखाइमा बढी प्रतिभा चाहिन्छ।)।
- कुनै खास तुलनात्मक वा सापेक्ष मापन, मानाङ्कन र मूल्याङ्कनका क्रममा हुन आउने मात्रा, भाग वा अंश (उदा.- यस व्यवसायमा रामले रु २५,००० र श्यामले २०,००० लगानी गरेकाले सोही अनुपातमा यसको नाफानोक्सान पनि तिनीहरूले बेहोर्ने भएका छन्।)।
- समान आयाम भएका कुनै दुई मान, मूल्य वा सङ्ख्याको मान, मूल्य वा सङ्ख्या एकअर्कासँग कति पटक गुणा वा भाग जान सक्छन् भन्ने हिसाबले निर्धारित हुने र सिङ्गो सङ्ख्या वा भिन्नका रूपमा पनि प्रकट हुन सक्ने परस्परसापेक्ष मात्रात्मक सम्बन्ध। (जस्तो- ३ र ४ मा त्यही अनुपात छ, जुन १२ र १६ वा २४ वा ३२ मा छ; ३ र ४ को अनुपातलाई गणितात्मक भाषामा ३:४ वा ३/४ भनी लेख्न सकिन्छ।)।
- प्रमाण र इच्छाका सापेक्ष मात्रागत सम्बन्धअनुरूप प्रमाणफल र इच्छाफलको सम्बन्धमा निर्धारित हुने त्रैराशिक वा पञ्चराशिक क्रिया।
- कुनै काष्ठादि वा रसादि औषधी तयार गर्दा प्रयोग गरिने विभिन्न वस्तुको परस्परसापेक्ष मात्रा; अंश; भाग; भागबाँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)