रस
ना. [सं.]
- आलो वा गिलो वस्तु निचोर्दा आउने द्रव पदार्थ; झोल।
- वन्य जरीबुटीका पात, बोक्रा, डाँठ, जरा र फूलसमेत पाँच अङ्गलाई कुटेर निचोर्दा आउने तरल पदार्थ।
- जरीबुटी, वनस्पति आदिलाई उसिनेर निकालिने सार; जरीबुटीको काँडा।
- रुख-बिरुवामा घाउ लगाएर निकालिने खोटो, चोप आदि कुनै प्रकारको तरल पदार्थ; निर्यास।
- प्राणीका शरीरबाट निस्कने रगत, दुध, वीर्य, पसिना आदि।
- अमरता प्रदान गर्ने सुधा; अमृत।
- रक्सी; मदिरा।
- प्राणीले खाएको भोजन पाचनथैलीमा पुगी रगत बन्नुभन्दा पहिले बन्ने तरल पदार्थ; शरीरका सप्त धातुमध्ये एक।
- जल; पानी।
- तरल पदार्थ; पन्यालो वस्तु; द्रव।
- पानीमा घोलिएको चिनी, मिस्री, नुन आदिको घोल; मिश्रित झोल।
- खाद्य वस्तु जिभ्रामा पर्दा जिभ्राले अनुभव गर्ने अमिलो, नुनिलो, पिरो, गुलियो, टर्रो, तितोसमेत छ प्रकारको स्वाद; षड्रस; रसनेन्द्रियले प्राप्त गर्ने आस्वाद।
- साहित्यमा विभाव, अनुभाव र सञ्चारीभावका संयोगबाट प्रस्फुरण हुने शृङ्गार, वीर, करुण, हास्य, अद्भुत, भयानक, रौद्र, बीभत्स र शान्तसमेतका अनुभूतिगत नवरस।
- कुनै वस्तुको सारतत्त्व; मुख्यतत्त्व।
- आयुर्वेदीय पद्धतिअनुसार विभिन्न धातुहरूको भस्म बनाएर तयार गरिएको औषधी; रसादि।
- पारो।
- सिम्रिक।
- कामव्यवहारमा रसबस गर्ने व्यक्तिले पाउने आकर्षण; आन्तरिक रुचि।
- कुनै कार्य गर्दा मिल्ने आत्मसन्तुष्टि।
- रसरङ्ग; रासक्रीडा; केलि।
- गणितज्योतिषमा ६ अङ्कको नाम; ६ अङ्कलाई बुझाउने शब्द।
- वास्तु तथा मूर्तिकलाअनुसार ६ अमलको नापोलाई बुझाउने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)